मोरङ, चैत २५ — मोरङ जिल्लाको रङ्गेली नगरपालिका–९ अन्तर्गत शान्ति टोल फर्साडाँगीस्थित सन्थाल बस्तीमा आगलागी हुँदा तीनवटा घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्। स्थानीयका अनुसार आज अचानक लागेको आगोले केहीबेरमै ठूलो क्षति पुर्याएको हो।
प्राप्त जानकारीअनुसार आगलागी शान्ति मर्डीको बासको टाटिबेरा र टिनको छानो भएको भुईँतले घर, उनका दाजु रामे मर्डीको टिनको छानो र बाँसको टाटीबेराले बनेको दुईतले घर र हेमरनको भुईँतले घरमा पनि आगो फैलिएको हो। आगो तीव्र रूपमा फैलिँदा तीनैवटा घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्।
घटनापछि स्थानीय बासिन्दा, नेपाल प्रहरी, रङ्गेली नगरपालिकाको दमकल तथा कानेपोखरी गाउँपालिकाको दमकल टोली तत्काल घटनास्थलमा पुगेका थिए। उनीहरूको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको हो। समयमै आगो नियन्त्रणमा लिइएकाले आसपासका अन्य घरहरूमा थप क्षति हुनबाट जोगिएको जनाइएको छ।
प्रहरीका अनुसार आगलागीबाट मानवीय तथा चौपाया क्षति भएको छैन। यद्यपि, घरभित्र रहेका सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा ठूलो आर्थिक क्षति भएको अनुमान गरिएको छ। क्षतिको विस्तृत विवरण संकलन गर्ने कार्य भने अझै जारी रहेको छ।
आगलागीको कारण हालसम्म खुल्न सकेको छैन। घटनाको वास्तविक कारण पत्ता लगाउन प्रहरी तथा सम्बन्धित निकायले अनुसन्धान सुरु गरेका छन्। प्रारम्भिक अनुमानअनुसार विद्युतीय सर्ट वा अन्य कारण हुन सक्ने बताइएको छ।
आगलागीका कारण प्रभावित परिवारहरू अहिले अस्थायी रूपमा छिमेकी तथा आफन्तको सहारामा बसिरहेका छन्। स्थानीय समुदायले पीडित परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने तयारी गरिरहेको छ।
यस घटनाले सन्थाल बस्तीमा त्रासको वातावरण सिर्जना गरेको छ। सम्बन्धित निकायले यस्ता घटना दोहोरिन नदिन सतर्कता अपनाउन र आगलागी नियन्त्रणसम्बन्धी सचेतना बढाउन आग्रह गरेका छन्। अहिले घटनास्थलमा सुरक्षाकर्मीको निगरानी जारी रहेको छ।