बिराटनगर, १४ चैत — पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई शनिबार बिहान भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित निवासबाट प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरी टोली बिहान करिब साढे ४ बजे उनको निवासमा पुगेको थियो। त्यसअघि गृहमन्त्री, प्रहरी महानिरीक्षक तथा सशस्त्र प्रहरी प्रमुखबीच राति अबेरसम्म छलफल भएको बताइएको छ।
ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्न अदालतबाट जारी आदेशका आधारमा प्रहरी ओलीको निवास पुगेको हो। सुरुमा निवासको मूल गेट नखुल्दा प्रहरी र उनका समर्थकबीच केहीबेर धकेलाधकेल भएको थियो। पछि प्रहरी टोलीले गेट खोलेर भित्र प्रवेश गरी पक्राउ आदेश देखाएको थियो।
पक्राउ आदेश पढेपछि ओलीले आफू त्यसको सामना गर्न तयार रहेको प्रतिक्रिया दिएका थिए। त्यसक्रममा उनले आफू अस्वस्थ रहेको पनि बताएका थिए। केही समय कानुनी सल्लाह लिएपछि उनी प्रहरीसँग जान सहमत भएका थिए।
प्रहरीले उनलाई उनकै प्रयोगमा रहेको सवारी साधनमार्फत काठमाडौंको भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा लगेको थियो। बिहान करिब ६ बजेर १७ मिनेटमा उनलाई त्यहाँ पुर्याइएको जनाइएको छ।
पक्राउपछि ओलीको स्वास्थ्य अवस्थाबारे परीक्षण गर्न उनलाई महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालतर्फ लगिएको छ।
यस घटनापछि राजनीतिक वृत्तमा व्यापक चर्चा सुरु भएको छ। अनुसन्धान प्रक्रिया अघि बढिरहेको प्रहरीले जनाएको छ।
