दुर्गा प्रसाद खतिवडा(दुर्गेश)
कानेपोखरी, ६ चैत । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ गोठगाउँमा गम्भीर अवस्थामा फेला परेका एक युवकको मृत्यु भएको छ।
सुन्दरहरैँचा क्षेत्रमा शुक्रबार बिहान घाइते अवस्थामा भेटिएका मोरङ बेलबारी नगरपालिका–९ का ३२ वर्षीय पंकज साहलाई उपचारका लागि अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्।
प्रहरीका अनुसार उनी पूर्व–पश्चिम राजमार्ग नजिक बिहान करिब ६ः१५ बजे लडिरहेको अवस्थामा फेला परेका थिए। शरीरका विभिन्न भाग, विशेष गरी टाउको र अनुहारमा गम्भीर चोट देखिएको थियो।
घटनास्थलबाट उद्धार गरी उनलाई कोशी अस्पताल पठाइएको भए पनि अस्पताल पुर्याउनासाथ मृत्यु भएको जनाइएको छ।
प्रारम्भिक अनुसन्धानबाट मृतक बिहीबार साँझ मोटरसाइकल लिएर घरबाट निस्किएको खुलेको छ। उनी भेटिएको स्थान नजिकै उनको मोटरसाइकलसमेत पार्किङ गरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
घटनाबारे इलाका प्रहरी कार्यालयहरूको संयुक्त टोलीले अनुसन्धान अघि बढाइरहेको छ। प्रारम्भिक अनुमान अनुसार सवारीसाधनको ठक्करबाट घटना भएको हुनसक्ने देखिए पनि वास्तविक कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
मृतकका परिवारलाई घटनाबारे जानकारी गराइसकिएको छ भने शव हाल अस्पतालमै राखिएको छ। प्रहरीले विभिन्न कोणबाट अनुसन्धान जारी रहेको जनाएको छ।