झापा — जिल्ला प्रहरी कार्यालय झापा ले सामाजिक सञ्जालमा फैलिएको “बालिकालाई कुटपिट गर्दै हिरासतमा राखिएको” भन्ने हल्ला पूर्ण रूपमा भ्रामक रहेको जनाएको छ।
प्रहरीका अनुसार बिर्तामोड नगरपालिका–४ मा लागूऔषध कारोबार र चोरीसम्बन्धी सूचनाका आधारमा गरिएको छापामार कारबाहीका क्रममा मसीना खातुनलाई मात्र नियन्त्रणमा लिइएको हो। उक्त समयमा उनका श्रीमान घरमा नभएको प्रहरीले जनाएको छ। लागूऔषध नियन्त्रण ब्यूरो सँगको संयुक्त टोलीले गरेको कारबाहीमा नगद, सुन–चाँदीका गरगहना समेत बरामद गरिएको छ।
सोही घरमा रहेकी १४ वर्षीया आशिका खातुनलाई सुरक्षाका लागि महिला पुनःस्थापना केन्द्रमा राखिएको र उनलाई कुनै पनि प्रकारको कुटपिट वा हिरासतमा नराखिएको प्रहरीले स्पष्ट पारेको छ।
प्रहरीले अपुष्ट र भ्रामक सूचना नफैलाउन आग्रह गर्दै जिम्मेवार ढंगले समाचार सम्प्रेषण गर्न सबैलाई अनुरोध गरेको छ।
