दुर्गा नारायण खतिवडा
केरौन, १३ फाल्गुन । मोरङ–२ अन्तर्गत पर्ने कानेपोखरी–२ मा आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली काँग्रेस वडा प्रचार–प्रसार समितिले घर–दैलो अभियानलाई प्राथमिकता दिँदै आएको छ।
प्रचारप्रसार समितिका अध्यक्ष छत्र निरौला को संयोजनमा शनिबारदेखि कार्यकर्ताहरु सहित कानेपोखरी-२ बासीको घर–घर पुगेर मत आग्रह गरिरहेको समितिका सचिव डेनु कार्की ले बताए।
कार्कीका अनुसार मोरङ–२ मा नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजाल उम्मेदवार रहेका छन् र उनीप्रति जनसमर्थन क्रमशः बढ्दै गएको छ।
डा. रिजाल मोरङ–२ का लागि नयाँ नाम भने होइनन्। २०७४ सालमा भएको पहिलो प्रतिनिधिसभा निर्वाचनमा उनले सोही क्षेत्र बाट नेकपा (एमाले) का उम्मेदवार ऋषिकेश पोखरेल लाई १८०५ मतले पछि पार्दै ३५,८१९ मत ल्याएर विजय हात पारेका थिए। सोही जीतपछि उनले फेरि पनि नेपाल सरकारमा मन्त्री हुने अवसर पनि पाए।
उनी संविधान सभा सदस्य हुदा बाटै मन्त्री हुुँदै आएका थिए । डा. रिजाल माधव कुमार नेपालको मन्त्रीमण्डलमा संस्कृति मन्त्री, सुशील कोइरालाको मन्त्रीपरिषद् मा सूचना तथा सञ्चारमन्त्री, र शेरबहादुर देउवाको मन्त्रीमन्डलमा रक्षामन्त्री समेत बनेका थिए ।
उनले अमेरिकाको न्यु योर्क विश्वविद्यालयबाट व्यवस्थापन विषयमा विद्याबारिधी गरेका थिए। उनले अमेरिकाको न्यु योर्क विश्वविद्यालयमा तीन वर्ष पढाएका पनि थिए ।
हाल उनी “बदलियो काँग्रेस, बदल्छौँ देश” भन्ने नारासहित चुनावी अभियानमा सक्रिय छन्।
यसपटकको चुनावमा रिजालसँग प्रतिस्पर्धा गर्ने प्रमुख उम्मेदवारहरूमा नेकपा (एमाले)बाट रंगेली नगरपालिकाका पूर्व मेयर दिलीप बगडिया, नेपाली कम्युनिस्ट पार्टीबाट चन्द्रवीर राई, र राष्ट्रिय स्वतन्त्र पार्टीबाट कृष्ण कार्की रहेका छन्। तीमध्ये मुख्य प्रतिस्पर्धीका रूपमा बगडियालाई हेरिएको छ।
डा. रिजालका अनुसार अघिल्लो कार्यकालमा गर्न नभ्यएका र थालेर बजेट अभाबका कारण पुर्ण गर्न नसकेर बाकी रहेका धेरै जनताको काम पूरा गर्न आफू पुनः उम्मेदवार बनेका हुन्।