स्थानीय सरकार प्रमुखका रूपमा रहेर संघ र प्रदेश सरकारका योजनाहरूलाई कार्यान्वयन गर्न सिपालु मेयरका रूपमा चिनिने एउटा नाम हो, दिलीप बगडिया । दुई कार्यकाल रंगेली नगरपालिका प्रमुखको रूपमा रही नगरलाई कायापलट गरेका उनै बगडिया अब क्षेत्र विकास गर्न तम्सिएका छन् ।
रंगेलीका लागि मरिमेट्ने बगडिया हाल मोरङ निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका छन् । क्षेत्रमा सर्वांगीण विकास गर्ने लक्ष्यका साथ बगडियाले सांसद बन्ने चाह राखेपछि मोरङ–२ का क्षेत्रबासीमा उत्साह र उमंग थपिएको छ ।
आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारीमा होमिएका बगडियाले संघीय सरकार र कोशी प्रदेश सरकारका योजनालाई कार्यान्वयन मात्र गरेनन् नगरसँग भएकै स्रोत–साधनको उचित प्रयोग गरी रंगेलीलाई हराभरा बनाए ।
पहिले वर्षायाममा हिलाम्मे र हिउँदयाममा धुलाम्मे हुने हुलाकी राजमार्गको विस्तार एवम् सौन्दर्यीकरणमा उनले गरेको पहलले सार्थकता पाएपछि नगरबासीले राहतको सास फेर्न पाए । जसकारण हुलाकी राजमार्गको ७ किलोमिटर सडक अन्य पालिकाभन्दा छिटो कालोपत्रे भयो अनि थप आकर्षित पनि भयो । ‘पिच’ गरिएको सडकको बीचमा ‘गार्डेनिङ’ गरेका उनले सडकबत्ती बालेर थप सुन्दर बनाए ।
हुलाकी राजमार्ग त एउटा उदाहरण हो, आठ वर्षे कार्यकालमा बगडियाले रंगेली नगरभित्र ७५ किलोमिटर सडक कालोपत्रे गरे । तीमध्ये १५ किलोमिटर सडकको डिभाइडर र पेटीमा विभिन्न प्रजातिका फूल–बिरुवा उनले रोपेका छन् । बगडियाकै योजनाअनुसार थप सडक कालोपत्रे बनाउने काम पनि भइरहेकै छ । आफ्नो कार्यकालभरिमा उनले ११५ वटा कल्भर्ट पनि बनाए ।
मेयरका रूपमा संघ र प्रदेश सरकारसँग पहल गरी योजना ल्याउन सफल भएका बगडिया संघीय संसद् पुगेर बृहत्त् रूपमा क्षेत्र विकास गर्ने लक्ष्यका साथ चुनावी मैदानमा होमिएका छन् । सत्ताका लागि नभएर जनतालाई आवश्यक पर्ने सर्वांगीण विकास गर्ने उद्देश्य लिएर अगाडि बढेका बगडियाले स्वास्थ्य क्षेत्रमा पनि उत्तिकै काम गरेका छन् । नगरमातहतकै अस्पताल भए पनि यो अस्पतालबाट छिमेकी पालिका र भारतसम्मका बिरामी लाभान्वित छन् ।
यस्तै, उनले रंगेलीको मुख्य बजारमा साढे तीन बिघा जमिनमा २२ करोड रुपैयाँ लागतमा कृषि बजार निर्माण गरेका छन् । आफ्नो घरको उत्पादन ढाकीमा बोकेर बजार तथा सडकमा बिक्री गर्ने स्थानीय किसानलाई मध्येनजर गरे नयाँ बनेको बजारमा कुनै शुल्क नलाग्ने व्यवस्था मिलाएका उनले रंगेलीको अर्को बजार दोहमानालाई चिटिक्क बनाएका छन् । २१ करोड रुपैयाँको लागतमा बनेको यो बजारमा भने पशु हाटका लागि पनि संरचना बनाइएको छ, जसकारण उत्तरी भेगका रंगेलीबासीलाई सुविधा मिलेको छ ।
त्यसबाहेक उनले रंगेलीका लागि एक दर्जन गौरवका योजना सञ्चालन गरेका छन् । १२ करोडको लागतमा मुख्यमन्त्री अत्यावश्यक केन्द्र बनाएका छन्, उनले । जहाँ रंगेलीसँगै सुनवर्षी, कानेपोखरी र धनपालथान गरी चार पालिकाको संयुक्त दमकल, एम्बुलेन्स र स्वास्थ्यकर्मी तैनाथ रहन्छन् ।
विपद् ब्यवस्थापनका लागि बनाइएको यो केन्द्र नेपालकै नमुना हो । त्यसैगरी, रंगेली–४ मा केही गहिरो भागमा रहेको २० बिघा क्षेत्रफलको जमिनलाई सिमसार क्षेत्र बनाएर पर्यटकीय तथा रमणीय स्थल निर्माण गर्नका लागि उनले पहलकदम लिएका छन् । संसारी माइस्थान मन्दिरको परियोजना पनि उनको पहलमा संघीय र प्रदेशको योजनाअनुरूप बनेको हो ।
संघ र प्रदेश सरकारबाट योजना भित्र्याउने क्षमता भएका बगडियाले रंगेलीको मुहार फेर्ने कुरामा कुनै कसर छोडेका छैनन् । नगरबासीलाई इन्टरनेटको पहुँचमा पुर्याउन १३२ स्थानमा फ्रि वाइफाइ जडान गरेका उनले सहरको सुरक्षालाई मध्येनजर गरेर ४८ स्थानमा सिसी क्यामेरा जडान गरेका छन् ।
विपद व्यवस्थापनअन्तर्गत बाढी प्रभावित क्षेत्रमा खोलाको तटबन्धन निर्माण, सामुदायिक विद्यालयमा व्यापक सुधार, स्वच्छ खानेपानी योजना विस्तार, ढल निकास तथा फोहोर व्यवस्थापन, सार्वजनिक भवन, सामुदायिक हल र पार्क निर्माण, महिला, युवा किसान र सामाजिक समूह सशक्तीकरण र रोजगार तथा सिपमुलक तालिमका लागि उनले व्यापक काम गरेका छन् ।
समग्रमा बगडियाले स्थानीय तह शक्तिशाली बन्दा त्यसको असर विकास निर्माणको काममा देखिन्छ भन्ने एउटा गतिलो उदाहरण प्रस्तुत गरेका छन् ।