रंगेली । केही वर्षअघिसम्म लथालिंग, अस्तव्यस्त र जीर्ण अवस्थामा रहेको रंगेली अस्पताल नगर अस्पतालका रूपमा रूपान्तरण भएपछि निजी अस्पतालभन्दा अब्बल बनेको छ । निजी अस्पतालभन्दा सुव्यवस्थित नगर अस्पताल एक पटक होइन, तीन–तीन पटक देशकै सर्वोत्कृष्ट अस्पतालका रूपमा घोषित् भएको छ ।
निवर्तमान नगरप्रमुख दिलीप बगडियाको इच्छाशक्ति, नगरपालिकाको कुशल व्यवस्थापन, अस्पताल प्रशासनको चुस्तता र सबैको साझा प्रयासले गर्दा न्यूनतम सेवा मापदण्डका विभिन्न सूचकका आधारमा गरिएको मूल्यांकनमा स्थानीय तहमातहत सञ्चालन भएका देशभरका अस्पतालमध्ये रंगेली नगर अस्पताल सर्वोत्कृष्ट ठहरिँदै आएको छ ।
सुशासन, व्यवस्थापन, क्लिनिकल म्यानेजमेन्ट र हस्पिटल सेवा सूचकका आधारमा पछिल्लो तीन वर्षयता रंगेली अस्पतालले छलाङ मार्दै आएको छ ।
रंगेलीमा स्थानीय सरकार प्रमुखका रूपमा दिलीप बगडिया आउनुअघि एउटा प्रमुख समस्याका रूपमा स्वास्थ्य नै थियो । बिरामी पर्दा स्वास्थ्यको हब मानिएको विराटनगर जानैपर्ने बाध्यता यहाँका नागरिकमा थियो ।