बुबा–आमाले फिटनेसका लागि फुटबल खेलाए, उनले करियर नै बनाइन्

विराटनगर । पश्चिम एसियाली फुटबल एसोसिएसन (वाफ) महिला च्याम्पियनसिपको फाइनलमा नेपाली टोली पराजित बन्यो । तर, यो प्रतियोगितामा नेपाली महिला फुटबलरहरूले विश्वको ध्यान खिचे । नेपालकी चर्चित फुटबलर सावित्रा भण्डारीदेखि गीता राना, रेखा पौडेल, प्रीति राई, पूजा रानाको खेलको सबैतिर चर्चा भयो ।

गत फागुन १६ गते बुधबार लेवनानसँगको प्रतिस्पर्धामा नेपाल २–१ ले विजयी हुँदा इन्जुरी टाइमको अन्तिम मिनेटमा प्रीति राईले गरेको गोलले नेपालमा सर्वाधिक चर्चा पायो । अहिले पनि उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।

प्रीतिको सोही गोलले नेपालले फाइनलको यात्रा तय गरेको थियो । डिबक्सभन्दा बाहिरबाट प्रीतिले गरेको यो गोल हेर्न लायक छ । उनले गरेको गोलको प्रशंसा अहिले सारा नेपालीले गरिरहेका छन् ।

  • प्रीतिको फुटबल करियर

प्रीति राईको फुटबल करियर ७ वर्षको हुँदादेखि सुरु भएको उनका अभिभावक बताउँछन् । ७ वर्षको उमेरदेखि उनी फुटबल खेल्न थालिन् । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका वडा नम्बर ४ तुमाउ स्थायी ठेगाना भए पनि प्रीति भने काठमाडौँमै जन्मिएकी हुन् ।

उनका बुबा चन्द्रप्रसाद राई ट्रेकिङ लाइनमा काम गर्छन् । आमा ज्ञानमाया राई भने काठमाडौँको कपनमा सानोतिनो चिया पसल चलाएर गुजारा गरिरहेकी छिन् ।

नेपाली महिला टोली वाफ महिला च्याम्पियनसिप प्रतियोगिताको फाइनल पुग्न प्रीतिले गरेको गोलले उनको व्यापक चर्चा भयो । आमा ज्ञानमायालाई पनि छोरीप्रति सारा नेपालीले दर्साएको मायाले खुसी दिएको छ ।

‘छोरीले खेलेका सबै गेम पहिलेदेखि नै परिवार नै बसेर हेर्छौँ,’ उनले भनिन्, ‘अहिलेसम्म छोरी रहेको टिमले गोल्ड मेडल चाहिँ ल्याएको छैन । हामी पनि गोल्ड मेडल ल्याओस् भन्ने प्रतीक्षामा छौँ । तर, छोरीले गरेको गोल र चर्चाले मलाई धेरै खुसी लागेको छ ।’

प्रीति अहिले १९ वर्षकी भइन् । उनी ब्याचलर दोस्रो वर्षमा अध्ययनरत छिन् । ७ वर्षको उमेरदेखि फुटबल खेल्न थालेको र एकेडेमीमा पनि आफैँ खोजेर गएको आमा ज्ञानमाया बताउँछिन् ।

 

भुटान, बंगलादेश, म्यानमार, चीनसम्म पुगेर दर्जनौँ अन्तर्राष्ट्रिय खेल खेलिरहेकी छोरीलाई आफूहरूले सकेसम्म सहयोग गरेको उनी बताउँछिन् । ‘सानोमा मात्रै हामीले सानोतिनो लगानी गरेका हौँ । अहिले लगानी गर्नुपरेको छैन । एक्स्ट्रा एक्टिभिटीमा लगाउनु पर्छ भनेर हामीले पनि उनलाई सहयोग गरिरहेका छौंँ,’ ज्ञानमायाले भनिन् ।

प्रीति आमा ज्ञानमाया र बुबा चन्द्रप्रसादको पहिलो छोरी हुन् । उनको जुम्ल्याहा भाइ राम लक्ष्मण छन् । उनीहरू पनि ब्याचलर पहिलो वर्षमा अध्ययनरत छन् । ‘छोराहरू चाहिँ लोकल टुर्नामेन्ट खेल्छन् । तर नेसनलतिर गएनन्,’ आमा ज्ञानमायाले भनिन् ।

प्रीति अहिले पनि भारतको किक स्टार क्लबमा अनुबन्धित रहेको आमा ज्ञानमायाले बताइन् । ‘दीपा शाही र प्रीति किक स्टारमा खेलिरहेका छन् । ४ महिनाको लागि अनुबन्ध गरेको सुनेको हुँ,’ उनले भनिन् ।

छोरीले पैसाभन्दा पनि नाम कमाइरहेको उनले सुनाइन् । फाइनलमा नेपाल पराजित हुनुमा प्रीति आउट हुनु र सावित्रा भण्डारी टिममा नहुनु नै कारण भएको उनले सुनाइन् ।

परिवारै बसेर खेल हेरेकी ज्ञानमायाले खेल हार्नुका कारण बताउँदै भनिन्, ‘प्रीति घाइते नभएको भए खेल जितिरहेको थियो नि । पहिलो हाफमा त नेपालले जितेकै हो नि । दोस्रो हाफमा पनि बराबर गर्‍यो । तर, पेनाल्टीमा मिस नगरेको भए हुन्थ्यो । हुन त गेममा गल्ती हुन्छ । तर गोल्ड मेडल ल्याउने चाहना पुरा भएन ।’

खेल हारेपछि आफूलाई तनाव भएको उनले सुनाइन् । ‘तनाव भयो नि हामीलाई त । सावित्रा भण्डारीलाई खेलाएको भए सजिलै जित्थ्यो नि । ऊ नभएकोले पनि कति कुरा आवश्यक देखिएको थियो । त्यसमा पनि हाम्रो नेपालले गोल हानेपछि आशा पलाएको थियो । उताबाट हानेको गोल अफसाइड गोल थियो । तर, रेफ्रीले मानेन नि । खै के खै के जस्तो भयो । छोरी पनि घाइते भयो,’ उनले भनिन् ।

 

घाइते छोरीसँग उनले शुक्रबार बिहानै फोन गरिन् । ‘चोट सामान्य छ भन्दैथिन् । आमाको मन चिन्ता त भइहाल्छ नि । तर, लड्दै खेल्दै, लड्दै गरेकै कारण त्यो ठाउँमा पुगेको हो । तर, अब गोल्ड मेडल नल्याउने पो हो कि ? लास्टमा आफ्नो हातमा आएको ट्रफी नै गुमेको जस्तो लागिरहेको छ हौ मलाइ त,’ उनले भनिन्, ‘सबै निराश भइयो नि । मैले आफ्नो छोरी भएर मात्रै भनेको होइन । नेपाली भएर सोच्दा पनि यस्तै लाग्छ ।’

उनका बुबा चन्द्रप्रसादले आफूहरूले भन्दा छोरी प्रीतिले आफैले यो स्थानसम्म पुग्नका लागि धेरै संघर्ष गरेको बताए । ‘उसले आफ्नो तर्फबाटै धेरै संघर्ष गरेको छ । हामीले उसलाई रोकेका छैनौँ,’ उनले भने ।

फाइनल हारेपछि भने खल्लो महसुस भएको उनले सुनाए । ‘फाइनल हारेपछि कस्तो खल्लो भयो नि । तर, उत्कृष्ट प्रदर्शन गर्‍यो ।’ अर्कोपटक यो टिमले पक्कै मेडल ल्याउने उनले विश्वास व्यक्त गरे ।

आफ्नो छोरीलाई शारीरिक विकासको लागि अतिरिक्त क्रियाकलापमा भाग लिन लगाएको तर छोरीले फुटबललाई नै करियर बनाएको उनले सुनाए । ‘शारीरिक विकासको लागि हल्का पार्ट टाइममा खेल खेलाऊँ भन्ने चाहना थियो । तर, यसलाई करियर बनाएर जाओस् भन्ने मेरो चाहना थिएन । तर, उसले फुटबललाई आफ्नो करियर बनायो,’ उनले भने, ‘अभिभावको रूपमा चिन्ता लागिरहन्छ ।’

उनलाई नेपालको खेल क्षेत्रमा लागेर करियर सुरक्षित होला भन्ने लाग्दैन । ‘खेल क्षेत्रमा कति बजेट छ । यसको भविष्य सुरक्षित छैन भन्ने चिन्ता चाहिँ लागिरहन्छ । उसले खेलकै कारण पढाइमा राम्रो ध्यान दिन सकिरहेको छैन,’ उनले भने ।

स्रोत :रातोपाटी

Views 17

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?

मोरङ CHITF तेक्वान्दो संघको दोस्रो जिल्ला अधिवेशन सम्पन्न

स्थानीय तह पुनःसंरचनामा नयाँ प्रस्ताव, लेटाङ–कानेपोखरी क्षेत्र मिलाउने

अल सोलुसनको दलेलीमा नयाँ शाखा, SEE महाअफर सार्वजनिक

Mulberry Fruit: Nutrition, Medicinal Properties, and Uses

किम्बु (Mulberry) फल: पोषण, औषधीय गुण र उपयोग

पाटन कृष्ण मन्दिर परिसरमा चक्कु प्रहार, दुई दाजुभाइको मृत्यु

पूर्वप्रधानमन्त्री ओलीको शल्यक्रियाको तयारी, स्वास्थ्य अवस्था निगरानीमा

सम्पत्ति शुद्धीकरण प्रकरणमा देउवा दम्पत्तिविरुद्ध पक्राउ पुर्जी

रङ्गेलीमा आगलागी, तीन घर जलेर पूर्ण रूपमा नष्ट

ताजा खबर
No data was found